आकर्षण Wednesday, December 24, 2008

मात थरिथरिका हुँदारहेछन्। मदीराको मात, धनको मात, पदको मात ईत्यादी, तर केहि समयविषेशमा सबै मातलाई मात गर्ने सुन्दरताको मात हुँदोरहेछ-

माछापुछ्रेलाई बिस्तारै
बादलले ढाकेर,
फेरी बादल हटेर,
माछापुछ्रे हाँस्दै अन्नपूर्ण संग जोडिएको,
मैले सरानकोट बाट नियाल्दा,
निलो आकाशले जसरि मलाइ छोप्छ;
त्यसैगरी,
तिमीले तिम्रा केशरासी मुहार बाट हटाउँदा,
तिम्रा अर्धमुदीत नयन,
अलिकता माथि उठेर मलाइ हेर्छन
र फेरी झुक्छन।
ठिक त्यतिबेला,
तिम्रो नाकको फूलिबाट परावर्तित ज्योतीले,
मेरो आँखामा चमक ल्याउँछ
र म तिम्रो गालाको लाली हुँदै,
ति अमृत प्यालाहरुमा हराउँदै,
तिम्रो मुहार जब हेर्छु,
मलाइ तिम्रो सुन्दरताले छोप्छ!

(फेव्रुअरि १, २००६ साझा)

कुरा फेरि रक्सीकै

याद र रक्सीको सम्बन्ध शायद, सभ्यता र रक्सीको आविष्कारसंगै सुरु भएको होला-

जब तिमी,
सुस्तरी मेरो यादमा आउँछौ,
सुकेका मेरा आँखामा मुल फुट्छन्,
र मेरो अगाडि भएको रक्सिको गिलाँसमा,
म त्यसलाई भर्न खोज्छु!
अचानक झस्किन्छु,
कतै यसले मेरो नशा त बिगार्दैन?
अनि बग्न दिन्छु त्यसलाई
त्यसको आफ्नै बहावमा।
जति मेरो आँशु बग्छ,
म त्यति रक्सि म भित्र हाल्छु।
जति रक्सि म भित्र हाल्छु,
त्यति मेरो आँशु बग्छ!!
यसरि कयौँ रात म बिताउँछु,
केहि बगाउँदै,
केहि पिउँदै!
किन तिमी अझै आउँछौ मेरो यादमा?
ऊफ!,
कति भन्नु तिमीलाई
जिन्दगी र याद फरक हुन्!!

(फेव्रुअरि २६, २००६ साझा)

बाध्यता

जीवनमा कुनै कुनै कुरा मनमा यसरी गड्छन् कि तिनका छाप शायद कहिले पनि मेटिँदैनन्-


मैले हत्केलाले छोप्न खोज्दा खोज्दै
फुत्त निस्केर भागेको,
कुनै उड्दै गरेको
सिमलको भुवा जस्तो तिम्रो माया;
उड्दै उड्दै हावाको तालमा,
पटक पटक कालावाजी खाँदै,
तातो स्पर्शको क्षणिक मादमा,
घाम घाम चुलिँदै र ढल्किँदै,
चिसो भुइँमा बजारिँदा,
मेरो हत्केलाको ताप,
अचानक पग्लन्छ; मेरो आँखाबाट!

साथका अनेक आयामहरु,
एक एक गर्दै केलाउँदै जाँदा,
सिधा बाटोको परिभाषा,
गलत बनिदिन्छन कुनै मोडमा;
जहाँ दायाँ कतै पर,
प्रेम झुपडि मैले नियाल्दा,
बायाँको रंगि चंगि बलौटे महलतिर
तिम्रो पाइला बढ्छन्,
र म फगत जड बनिदिन्छु;
प्रेम झुपडिको झिंगटी संगाल्दै!

ढोका खोल्ने बेला भएको,
बिहानीको कुनै,
खुद्रा पसल जस्तो मेरो जवानी;
झिसमिसेमा तिम्रो ढोका नखुल्दा,
एकछिन रनभुल्लमा पर्छु।
चाहँदा नचाहँदै पनि,
मेरो सामु कुनै नयाँ ढोका खुल्छ,
र म भित्र पस्छु;
टाढा कतै हराएको साँचो हातमा लिएको
उदास तिम्रो मुहार हेर्दै!!!

(फेब्रुअरि ९, २००७ साझा)

खस्रो गुलाब

भन्छन, जुन चिज प्राप्ती भित्र पर्दछ, जुन चिज साध्य छ त्यो चिजको महत्व अप्राप्त र असाध्य चिजहरुभन्दा कम हुन्छ। र कहिलेकाहिँ सफलता चुम्न खोज्दा संघर्ष र परिश्रमले यति थकित बनाइदिँदोरहेछ कि, पाएको सफलताप्रति मन उदासिन हुँदोरहेछ-

बास्ना आफ्नो ठाउँमा छ,
कोमलता आफ्नो ठाउँमा छ,
सौन्दर्य आफ्नो ठाउँमा छ,
र फक्रेर बिहानि बोलाउने
कोपिला आफ्नो ठाउँमा छ!
तर सुगन्ध भेट्न
जरा देखि उकालो लागेको म;
बिचका असंख्य काँडाहरुमा अल्झिँदै,
चिरिँदै र टुक्रिँदै,
रगताम्य शरिर लिएर
थुङ्गा सम्म पुग्दा-
मलाई गुलाब;
खस्रो लाग्छ!
सतहि लाग्छ!
खोक्रो लाग्छ!
व्यर्थ लाग्छ,
र बेकार लाग्छ!!

(डिसेम्बर २२, २००६, साझा)

साकी, प्याला भरिदेऊ

जब अन्तर्मनले चोट अनुभव गर्छ, जब हातहरुले जिऊ अड्याऊने कुनै टेको खोज्छ, तब छायाँ नै सहि, झुटो नै सहि, कुनै झिनो त्यान्द्रोमा पनि आधार झल्किँदोरहेछ!

साकी, भरिदेऊ अझै
प्याला माथि प्याला!
सबै पिएको हैन मैले,
आधि गिलाँस त छचल्किएरै पोखिएको हो।
तिमिलाई थाहा छैन,
आज अझै चुर हुनु छ मलाई।
भर्खर त साँझ पर्यो,
भर्खर त मेरो गाला र घाँटि रसिलो भयो।
ऊनको नशामा जति म मातेको थिएँ,
त्यति मात्न परेको छ आज मलाइ!
अहो! हल्का उनको छायाँ देख्दै छु!

साकी, भरिदेऊ अझै
प्याला माथि प्याला!
सबै पिएको हैन मैले,
आधि गिलाँस त छचल्किएरै पोखिएको हो।
तिमीलाई बिश्वास छैन,
आँखा त मेरो पहिले नै लाल थियो,
किनकि म पहिला आँखाले पिउने गर्थेँ!
अहिले त्यो लालि मेटाउन पिउँदै छु।
बल्ल त आँखामा उज्यालो आयो।
अहो!हल्का बत्ति बलेको देख्दै छु!

साकी, भरिदेऊ अझै
प्याला माथि प्याला!
सबै पिएको हैन मैले,
आधि गिलाँस त छचल्किएरै पोखिएको हो।
तिमीलाई केहि अनुमान छैन,
नालिमा म पहिले नै लडिसकेको छु।
त्यसैले भरिदेऊ फेरि अर्को गिलाँस!
भर्खर त छाति तातो भयो।
मेरो दुई कन्चट बाट एऊटा तातो लहर,
टाऊकोमा एक फन्का घुमेर
कान तताउँदै मेरो शरिरमा हिँड्यो!
मेरो तन्तु तन्तु फड्फडायो!
अहो!
भित्र कतै केहि जलेको देख्दै छु!

साकी, भरिदेऊ अझै
प्याला माथि प्याला!
सबै पिएको हैन मैले,
आधि गिलाँस त छचल्किएरै पोखिएको हो।
तिमीलाई, बोध छैन,
धेरै घाउहरुमा तिमीले मलम लगायौ।
एक रात मलाइ बास देऊ
र मेरो घाऊलाई अलिकता सास देऊ!
घरको बाटो पहिले नै भुलिसकेको छु,
त्यसैले कतै पुग्नु छैन मलाइ!
एक क्षणको लागि मलाइ साथ देऊ।
अहो! तिमीमा उनको अनुहार देख्दै छु!

(मार्च १९, २००६, साझामा र पछि ९८ औँ लक्ष्मी जयन्तीको अवसरमा अन्तराष्ट्रीय नेपाली साहित्य समाज, जापान द्वारा आयोजीत कार्यक्रममा वाचन गरिएको)

रक्सी र म

समय चलिरहन्छ, साथमा हामि बगिरहन्छौँ! समयको छाल ढलपल ढलपल गर्दा कहिले हामि सतहमा हुन्छौँ त कहिले गहिराईमा! समयको कुनै सानो पाटोले कहिले रोमांच भर्दछ त कहिले कहाली लगाउँछ। यस्तै एक समय थियो, केहि रिक्तता केहि अपूर्णता र शायद केहि अत्यास, मेरा वरिपरि घुमिरहेका! त्यो क्षणिक थियो म अहिले बुझ्दछु, त्यो अनन्त थियो जतिबेला मैले भोग्दथेँ! जब एक्लोपना झनै एक्लिएर रुन थाल्दछ--

हरेक साँझ, मनभरि भएका
गुनासोहरु केलाउँछु
र म पाउँछु आफूलाई;
कहिले परिचितहरुका जालहरुमा जेलिएको,
कहिले जीवनका सवालहरुले घेरिएको,
कहिले एक्लोपनाका हालहरुमा हराइरहेको,
र कहिले,
जवानीका जंजालहरुले बिथोलीरहेको!

त्यो सबैलाई, एक एक गर्दै,
झिक्दै, थुत्दै, तान्दै निकाल्छु
र एउटा बलियो पोको बनाएर,
म त्यसलाई रक्सी संगै गिलाँसमा झोस्छु,
अनि एक सासमा गिलाँस रित्त्याउँछु,
मानौँ म अमृत पिउँदैछु!

त्यसपछि, कहिले वास्तबिकता बिर्सेर,
अट्टाहास लगाउँछु
र दंग पर्छु म गुनासो सकिएकोमा।
कहिले सबै गुनासो सम्झेर
फेरि धुरुधुरु रुन्छु।
अनि क्यासेटमा बज्दै गरेको'
गजल संगै एकछिन गाउँछु
र बेहोश हुन्छु!

बिहान अचानक थाहा पाउँछु;
हिजोको गुनासोमा,
अर्को एउटा गुनासो पनि थपेछु
आफैँले रक्सी छाड्न नसकेको!!
यसरि सधैँ गुनासो थपिँदै छ
मेरो जिन्दगीमा दिन दिन,
र मेरो दिनमा छिन छिन,
एउटा दीर्घरोग जस्तै!
मलाइ थाहा छ,
यो झिनो सासको यात्रामा,
यसले मलाई क्षण क्षण मार्दै छ।
तर पनि, हरेक साँझ म ब्यूँतन्छु
र फेरि भोलि मर्ने जोहो गर्छु!!!

(सन् २००६ मा साझामा प्रकाशीत)

मेजरनी (कथा)

आज पनि १२ बजिसक्यो मेजर अझै फर्केको छैन।
“कतै गएर धोकिरा होला नि सुङगुरको झोल?” मेजरनीले मुख नमिठो बनाईन् र मनमनै बोलिन्। तत्कालै झ्याल बाट बाहिर हेरिन्। उता पट्टिको कटेरोमा बत्ति निभिसकेछ।
“ थाकेको थियो, बिचरा सुतिसक्यो होला”
मनमनै बोल्दै खाटमा गइन् र सिरक तानेर जिउ छोपेर खाटमा ढलिन्। उत्तानो परेर माथि मिलाएर राखेको काठको दलिन हेर्दे मनमा कुरा खेलाउन थालिन्।
३ बर्ष अगाडि बुबाले मेजर संग उनको बिहे गरिदिने कुरा सुन्दा उनि फुरुक्क परेकि थिई।
“ मेजर त चालिस नाघिसकेको छ रे नि त? फेरि राँडो मान्छे रे!”
पँधेरामा गाग्रि भर्दा भर्दा मुखिनि बज्यैको कुरा सुनेर उनको अठार बर्षे मनमा नमिठो प्रहार भएको उनले अनुभव गरेकि थिइन्।
“ मलाई के थाहा त? बा ले जाँ दिन्छन त्यइँ जान्छु, मुखिनि बज्यैलाई के को चासो” यति भन्दै पित्तले गाग्रिबाट चुलिएको पानी अलिकता पोखेर गाग्रि कम्मरमा बोक्दै ऊनि घर तिर लागेकि थिइन्। मेजरलाई उनले बिहाको दिन मात्र देखेकि थिइन्। अग्लो जिउमा नसुहाउने अलिकता पुट्ट उठेको भुँडि, र डरलाग्दो जुङ्गा उनलाई मन परेको थिएन तर पनि ऊनि खुसि थिइन्।
“ नौ पढ्दा पढ्दा छाडेकि हामि जस्तो गरिपको छोरिलाई मेजर माग्न आ’ छन् गाँठे!”
बुबा खुसिले फुरुङ्ग हुनुभएको ऊनले प्रत्यक्ष देखेकि थिइन् र आमाले बिधुर भए पनि मान्छे राम्रो र ठुलो पहुँच भएकोले भविश्य राम्रो हुने आश्वासन दिएएछि, ऊनि पनि रोमान्चित हुन थालेकि थिइन्। बिहाको लगत्तै मेजरले ऊनलाई चिसापानी ब्यारेकमा ल्याएको थियो। दिनभरि क्वार्टरमा बस्नु र वरिपरि यसो टहलिनु उनको काम थियो। क्वार्टर बाट बाहिर निस्केको बेलामा ऊनले प्राय: सधैँ एकजना रिकुटेलाई देख्थी, जसले उसलाई देख्ने बित्तिकै सलाम ठोक्थ्यो र केहि नबोलि आफ्नो काम गर्न थाल्थ्यो।

बिरे मेजरको क्वार्टर नजिकै एउटा सानो कटेरामा बस्थ्यो। ऊ, मेजरहरुको क्वार्टरमा काम गर्न खटिएको थियो। हृष्टपुस्ट शरिर र हँसिलो मुहार अनि मेशिन जस्तो काम गर्न सक्ने बल्; बस यहि थियो बिरेको परिचय! सुदूर पश्चिमको दार्चुलाबाट जागिर खाने आशामा सेनामा भर्ति भएको थियो। तालिम चलुन्जेल त उसलाई सेनाको काम देखेर रमाईलो लाग्थ्यो, तर पछि पोस्टिङमा ठुला अफिसरहरुको घरायसि काम गर्नु परेकोले उसलाई कहिलेकाहिँ बेकार जागिर खाएको जस्तो पनि लाग्दथ्यो, तर बुढि आमा र सानो भाई सम्झेर ल्याउँदा, गर्नु पर्ने काम र कमाईसंग ऊ एक प्रकारले सन्तुष्ट नै थियो।
पहिला पहिला त मेजरनीलाई रात बितेको पत्तै हुँदैनथ्यो तर केहि समय भयो, ऊनलाई रात सम्झ्यो कि दिग्बिग् लागेर आउन थालेको थियो। मेजरको भुँडिले ऊनलाई उकुस-मुकुस बनाउँथ्यो र मुहारमा जुङ्गाले घोच्ने बित्तिकै कुहिएको सिनो जस्तो रक्सि मिसिएको मेजरको सासको गन्ध ऊनको नाकमा छिर्थ्यो! यो दुर्गन्ध र थिचाई बाट त उसले केहि पलमै मुक्ति पाउँथि तर लगत्तै कुनै मिल चलेको जस्तो आवाज गर्दै मेजर घुर्न थाल्दा उसको आँखा ट्वाल्ल हुन्थे; अहिले जस्तै दलिन नियाल्दै!
त्यसैले दिनमा मेजर गएको बेलामा एकछिन आनन्दले सुत्नु ऊनको नियम बनिसकेको थियो। मेजरले कहिलेकाहिँ उसलाई खाना खान मान्छे नै मान्छे भएको ठुलो कोठामा लाने गरेको थियो। ऊनले अनुभव गरेकि थिइन् कि कुनै नयाँ; शायद ठुलाबडा अफिसर ब्यारेकमा आएको बेलामा मात्र मेजरले ऊनलाई आफू संगै खाना खान लैजाने गरेको थियो।
जानुभन्दा पहिला नै मेजरले “ केहि बोल्नु पर्देन, मुसुक्क हाँसि हाँसि खाना खानु” भन्ने गर्थ्यो। १०-१५ जना मान्छेहरु र ५-६ जाना अर्धबैँशे आइमाईहरु टेबुल वरिपरि बसेका हुन्थे र मेजरनिलाई सबैले क्वारक्वार्ति हेरेको जस्तो लाग्थ्यो। यस्तो जमघटमा जाँदा जहिले पनि मेजरनीको भोक हराउँथ्यो र चुरोटको कुहिरिमण्डल धुवाँमा निसास्सिएर साह्रै अप्ठ्यारो अनुभव गर्ने गर्दथिन् तर मेजरलाई यो कुरा भन्ने हिम्मत भने थिएन ऊनको। फर्कँने बेला सम्म मेजर रक्सिको नशामा मातिसकेको हुन्थ्यो र यस्तो समयमा घर पुगेपछि आइलाग्ने शारिरिक व्यथाले मेजरनीको आँङ जिरिङ्ग हुन्थ्यो।
*****

बाहिर मोटर रोकिएको आवाजले मेजरनीको तन्द्रा भंग भयो। एकपटक मुख नमिठो बनाइन्, उठिन् र अस्त्यव्यस्त लुगा मिलाउँदै आंङ तन्काईन्। यत्तिकैमा मेजर भित्र छिर्र्यो, मेजरनी बलजफती मुस्कुराईन्। रक्सिको ह्वास्स गन्ध आयो! मेजरनीको मुखमा एक पललाई निस्केको मुस्कान तुरन्तै मेटियो। मेजर केहि नबोलि लुगा खोल्न थाल्यो। लुगा खोलेर ओछयानमा थ्याच्च बस्यो र बोल्यो-
“ पानी ले?”
मेजरनीले नजिकै टेबुलमा राखेको जगबाट गिलाँसमा पानी हालिदिइन् र मेजरलाई दिइन्। घुटुक घुटुक को आवाज निकाल्दै मेजरले गिलाँस रित्त्याउँदा मेजरनि भावबिहिन आँखाले मेजरलाई हेरिरहेकि थिईन्। पानी खाइसकेर गिलाँस मेजरनीलाई दियो। एकपटक साँढे डुक्रेको जसरि ठुलो डकार निकाल्यो, ओछ्छयानमा लम्सपार पर्यो र आँखामा कुनै शिकारिको जस्तो भाव ल्याउँदै मेजरनी तिर हेरेर बोल्यो-
“ आइज!”
भावबिहिन् मेजरनी, फगत अगाडि बढिन्।
सधैँ झैँ, मेजरनीले केवल भित्तेघडिको एकनासको उराठ् ट्वाक् ट्वाक् आवाज मात्र याद गरिन्।
*****

मद्यान्न बेला थियो। मेजर हिँडेपछि भर्खरै झुपुक्क निदाएको मात्र थिइन्, ठ्याक्..ठ्याक् को आवाजले मेजरनीको नीँद्रा भङ्ग भयो। बिउँझिइन् र बिउँझना साथ घडि हेरिन्। १२ बज्न लागेको थियो। जुरुक्क उठिन् र ढोका खोलेर बाहिर हेरिन्। बिरे सुकिलो सेतो गन्जि लाएर, आधि झुकेर दाउरा चिर्दै थियो। बटारिएका पिँडुल्लाले बलियो संग उसको जिउ थामेको थियो र उसका दुबै हात बन्चरो समातेर पटक पटक मच्चिएर माथि र तल गएको मेजरनी एकटकले हेर्दै थिइन्।
“ बिचरा! कति दुख गर्छ सधैँ!”
मेजरनीको मन सहानुभुतिले भरियो। उसो त बिगत केहि हप्ता देखि ऊनले बिरेको दैनिक काम नियाल्दै आएकि थिइन्। बिहानै उठेर सेतो र कालो रंगले रंगाईएको रुखहरुको फेदमा छरिएका पातहरु बडारेर सफा बनाउँथ्यो, दाऊरा चिर्थ्यो र दाऊरालाई खात लगाएर राख्थ्यो। अनि नजिकैको धारामा हात मुख र खुट्टा पखाल्थ्यो, र १-२ घन्टा हराउँथ्यो, शायद मेसमा खाना खान जान्थ्यो होला। त्यसपछि युनिफर्म लाएर २-३ घन्टा तालिममा जान्थ्यो र फर्केर फेरि बगैचामा काम गर्न थाल्थ्यो। झमक्क रात नपरे सम्म केहि न केहि गरिरहन्थ्यो। ऊ एकटकले बिरेले दाउरा चिरेको हेर्दै थिइ बरन्डाबाट। बिरे एकछिन सुस्तायो, पुलुक्क मेजरनि तिर हेर्यो र सलाम ठोक्यो। आँखा चार भए एकपलको लागि। आँखा त धेरै पटक जुधेका थिए पहिले पनि, तर यसपालि अनायासै मेजरनीको ओठमा मुसुक्क हाँसो फुस्कियो। बिरे अलिकता आत्तियो तर तुरन्त ऊ पनि मुसुक्क हाँस्यो र तत्काल अर्को तिर हेर्न थाल्यो।
“ केटा मान्छे भएर नि कस्तो लजाउने रहेछ”
मेजरनिले मनमनै भन्दै बिरेलाई हेरेर फेरि मिठो हाँसो ओठमा ल्याईन् र भित्र गईन्। भित्र भित्तामा मेजरको फोटो देखेर ऊनको हाँसो त्यसै धमिलियो! भान्सामा गएर एक गिलाँस चिसो पानी पिइन्, रेडियो खोलेर कुर्सिमा ढल्केर बसिन् र आँखा चिम्लिइन्। बिरेले सेतो गन्जि लाएर दाउरा चिरेको झल्को अझै ऊनको आँखामा थियो।
“ दार्चुला देखि आएको रे बिचरा! सधैँ काम गरेको गर्यै गर्छ!”
मेजरनीको मनमनै बोलिन् र एकछिन अगाडि बन्चरोले दाऊरालाई दुई फक्ल्याँटो पारेको सम्झिइन्। कता कता मेजरनीलाई पानी परेपछिको माटोको गन्ध आयो! मेजरनी अचम्ममा परिन्; बाहिर टन्टलापूर घाम लाग्दैथियो!
*****

भर्खर साँझ परेको थियो, र भर्खरै आज एघारौँ दिनमा कतै गएर मेजर फर्किएको थियो। मेजरनीलाई पिंजडाबाट छुटेपछि पुन: पिँजडामा राखिएको सुगाको जस्तो अनुभव भयो! मेजर खुसि थियो। आउनासाथ हतार हतार संगै ल्याएको सुटकेश खोल्यो र भन्यो-
“ हेर्…तँलाई धेरै महङ्गो सारि र सिक्रि ल्याइदिएको छु!”
सुटकेश बाट केहि सारिहरु निकाल्यो र एउटा सानो मखमलि डब्बा निकाल्दै दाँत देखाउँदै मेजरनि तिर हेरेर हाँस्यो।
“ जा यो सारि र सिक्रि लाएर आइज!”
मेजरनी तिर एउटा सारि र डब्बा दिँदै मेजर बोल्यो। मेजरनीले चुपचाप सारिको पोको र सिक्रिको डब्बा हातमा लिइन् र अर्को कोठातिर लागिन्। कोठामा पुगेर मेजरनिले सारिको पोको फुकाइन्। सारि धेरै नै मुलायम थियो। उसलाई धेरै नै मन पर्यो। एकछिन ऊनको ओठमा मिठो मुस्कान आयो। खुसि हुँदै पहिले लगाईराखेको धोति खोलेर सारि लगाईन्, डिब्बाबाट सिक्रि झिकेर घाँटिमा लगाईन् र एकपटक ऐना हेरेर फेरि मुस्कुराईन्।
“ कति बेर लाउँछेस?”
मेजरको धोक्रे स्वरले एकपल मेजरनी आत्तिइन्, हाँसो बिलायो र मेजर भएको कोठातिर लगिन्। मेजर मेजरनिलाई एकटकले हेरेको हेर्यै भयो र तत्काल बोल्यो-
“आज भोज छ, ढिलो भैसक्यो हिँड् जाउँ!”
मेजरनीले निर्विचार मेजरलाई हेर्दै सहमतिमा अलिकता टाउको हल्लाईन्।
****

घाम टाउको माथि पुगेको हुँदो हो। मेजर भर्खर गएको थियो। मेजरनी खै किन हो अलि खुसि थिइन्। मेजर जाने बित्तिकै मेजरनी हतार हतार बाथरुम भित्र छिरिन् र कुनै मन पर्ने गित गुन्गुनाउँदै नुहाउन थालिन्। नुहाउँदा नुहाउँदै निकै पटक आफैँलाई ऐनामा हेरिन् र कयौँ पटक त्यसै मुस्कुराईन्। निकै समय लगाएर नुहाएपछि हिजो मेजरले ल्याइदिएको सारि लगाईन्। सिक्रि हिजै डिब्बा भित्र राखेकि थिइन्, त्यो पनि निकालिन् र लगाईन्। सिक्रि लाउने बेलामा अनायाशै सारिको सप्को तल झर्यो। ऊनलाई मिठो अनुभव भयो। फेरि सप्को हालिन् र गुनगुनाउँदै आँखामा गाजल लगाउन थालिन्। सम्पूर्ण काम सकेर एक पटक धित मरुन्जेल आफैँलाई ऐनामा हेरिन्, बाहिर कोठामा आइन् र कुर्सिमा बसिन्।
बाहिर ठ्याक…ठ्याक को आवाज आयो। मेजरनीलाई फेरि पानी परेपछिको माटोको मिठो गन्ध आयो। फेरि ओठमा मधुरो हाँसो ल्याइन् र हतार हतार बाहिर बरन्डामा गइन्। बिरे भर्खर दाउरा चिर्न थालेको थियो। बरन्डामा मेजरनीलाई देख्ने बित्तिकै दाउरा चिर्न बन्चरो समातेको बिरेको हात अनायाशै जड् भयो। ऊ एकटकले मेजरनी तिर हेरेको हेर्यै भयो! मेजरनीको अनुरागपूर्ण नजर झन् बिरेको अनुहारबाट हट्न सकेन। अहिले सम्म देखेको सम्पूर्ण मुस्कानहरु मद्धे अहिलेको मेजरनीको मुस्कान बिरेलाई धेरै मिठो लाग्यो, धेरै आफ्नो लाग्यो; महाकालीको मिठो सुसाई जस्तै!
****

बिहान सखारै हुँदो हो। नेपालगंज जाने बस सेनाको चेकपोस्ट भन्दा अलि वर आएर फेरि रोकियो। साधारण घरेलु धोतिको सप्कोले टाउको आधि छोपेर मेजरनी एउटा सुटकेस बोकेर बस भित्र चढिन्। हतार हतार आँखा बसको अन्तिम सिटहरु तिर गयो। बिरे अघि नै चेकपोस्टमा बस चढिसकेको रहेछ। मेजरनीको मन ढुक्क भयो। खलाँसिले अगाडिको सिट देखाएर बस्ने इशारा गर्यो। मेजरनी सुटकेस छेउमा राखेर सिटमा बसिन्।

बिहानको ९ बजेको हुँदो हो। धम्बोजि चोकमा बस रोकियो। ओर्लने यात्रुहरु यता उता लागे। मेजरनी र बिरे आ‍-आफ्नो सुटकेश बोकेर सडकको छेउमा उभिए र एक अर्कालाई लुकेर हेरे। बिरे एकातिर लाग्यो। मेजरनी पछि पछि लाग्दै गइन्। उनिहरु नजिकैको होटलमा छिरे। बिहानको समय थियो। मान्छेहरु त्यति थिएनन्। एउटा टेबलमा गएर बिरे बस्यो, मेजरनी एकछिनपछि त्यहिँ आएर उसको सामुन्ने बसिन्। बिरेले खाना अर्डर गर्यो। खाना खाँदै गर्दा मेजर्नि बिच बिचमा टोलाउँथिन् र बिच बिच मै अत्यन्त खुसि देखिन्थिन्। निकै बेर भातलाई नियालेर हेरिन् र बिस्तारै दाल संग मुछेर मुखमा गाँस हालिन्, पुलुक्क बिरेलाई हेरिन् र आँखामा ज्योति ल्याउँदै भात निल्न थालिन्। आज बर्षौँ पछि मेजर्निलाई खाना खाएपछि अघाएको अनुभव भैरहेको थियो। खाना खाने बित्तिकै उनिहरु बाहिर निस्किए र सडको छेउमा राखेको रिक्सामा पहिला दुईवटै सुटकेस एकमाथि अर्को गरेर राखे र अप्ठ्यारो संग साँघुरो ठाउँमा दुबैजना बसे।
“ रुपैडिहा!”
बिरेले भन्यो।
“ पन्ध्र रुपियाँ लाग्छ हजुर”
रिक्सावाला बोल्यो।
“ हुन्छ जाउँ”
बिरे यति भन्दै मेजरनी तिर ढेपिएर बस्यो। मेजरनीलाई फेरि त्यहि पानी परेपछिको मिठो माटोको गन्ध आयो र आँखामा एक चमक आयो! रिक्सा चुईँ चुईँ गर्दै रुपैडिहा तिर हुइँकिँदै थियो।
(समाप्त)

तुषाराहरु

चिसो, तिखो , नाङ्गो र खालिपन् , यि चार चिजहरु मलाई घोच्ने प्रवृतिको लाग्छ, भित्र सम्म! एउटा घोचाई, जुन मैले तुषाराहरुलाई अर्पण गरेको थिएँ--


तुषाराहरु,
मेरा कल्पनाका ओसलाई
कण कण गर्दै, चिस्याउँदै जान्छन्!
यथार्थहरु,
जुन मलिलो देखिँदै थिए
हिजो सम्म;
रात काट्न नपाउँदै
कठाङ्ग्रिने पत्र पत्र
सबै सेताम्य!!
चौर भरि, पात भरि
मनका कन्दरा कन्दरामा,
आँत आँतमा
खात का खात
तुषाराहरु,
यथार्थलाई
चिसो, ठि्र्रयाउने
ढिक्का बनाईदिन्छन्;
र त तुषाराहरु
आँत बाट, मन बाट
बर्षिन थाल्छन्!!

शुरुवात साझाबाट

साझा डट कम (http://www.sajha.com/) , हामि जस्ता बिदेशिएका नेपालीहरु भेला हुने र एक अर्काका बिचारहरु आदान-प्रदान गर्ने, तथा एक अर्कालाई मद्दत गर्ने एउटा थलोको रुपमा देखा परेको अमेरिका स्थित एउटा वेब-साईट हो। साझामा मेरो प्रवेश संगै मनका खुल्दुलीहरु राख्न थालेको थिएँ, र अहिले त्यहाँ मैले कथा कविता तथा हाँस्यव्यङ्ग द्वारा पोखेका खुल्दुलिहरुलाई यहाँ तह लगाएर राख्ने जमर्को गर्दैछु।

मेरो एउटा धमिलो फोटो सहित, यो पोस्ट टुङ्ग्याउँछु।



"धिप धिप गर्दै ज्योती, मलाई निभ्ने धम्कि दिन्छ। अन्धकारको त्रासले म झ्याल-ढोका लगाउँछु, तर अचानक थाहा पाउँछु बाहिर त घाम लागेछ!"


लेखेको कुरा राख्ने थलो

धेरैले ब्लगहरु खोल्दै आफ्ना कुराहरु राखेको देखेर मलाई पनि पहिले लेखेका र पछि लेखिने गन्थनहरु राख्न एउटा ब्लग बनाउन मन लाग्यो। अब पहिले साझा तथा अन्यत्र छरिएका तथा मेरो कम्प्यूटरमा छरिएका कुराहरुलाई यहाँ राखेर ब्लगको शुरुवात गर्दैछु। थाहा छैन अहिले जस्तो मन कहिले सम्म लागिरहन्छ तर पनि सकेसम्म लेख्दै र राख्दै जाने बिचारमा छु।