यो हिउँद Tuesday, February 17, 2009

अहिले जाडो छ। हिउँदको मौसम, नाङ्गा सडकहरु र खुइलिएका रुखहरु लोलाएका छन्। दुई वर्ष जति अघि यस्तै हिउँदमा यो कविता लेखिएको थियो बाहिर चिसो तर मन उम्लिएको कुनै बिहानीमा! पोहोर साल एक हरफ थपियो र अहिले त्यहि कविता याद आयो।

यो हिउँद-

चिसो पट्टयारलाग्दो सर्दीमा,
गजधुम्म परेर कपास ओडेका,
ती एकोहोरो ठाडा रुखहरु;
मेरो नियती जस्तै,
आफुमाथि क्रमश: थपिँदै गएको बोझ
हल्का हुने आशामा,
अरु बोझ थप्दै गइरहेका छन्!!

फुस्फुसाउँदै गरेको सेतो सफा,
तर आफू भित्र कलबिख भरेका
त्यान्द्राहरु; माथि कतै आकाशबाट
कोमल स्पर्शको भान पार्दे,
मैले भोगेका कथित् चोखो माया जस्तै,
मुटु सम्म हान्दै जान्छन्
र उसको आगमनले
संसार श्वेत, सफा भएको नाटक गर्छन्!!

बिहानै गन्तव्यतिर हिँडेका-
ती कुम्लो बोकेका पुरुषहरु,
ती बच्चा बोकेका स्त्रीहरु,
विवस! एक आपसमा टाँसिएर
कुनै कालो ओडारको ओतमा
एक अर्काको टाउकाबाट सेता झाम्टा झार्दै होलान्,
अचानक टुङ्गिएर पूर्णविराम लागेको
मेरो डग्मगाउँदो यात्रा जस्तै!!!

सबैलाई बिहानी गित सुनाउँदै बिउँझाउने
साना साना चरिहरु,
अचानक बल्झिएको प्रलयबाट
टाढा जाने चेष्टामा,
कतै कुनै गुँड भित्र गुँडुल्किएर बसेका होलान्
अनायासै थन्किएका,
मेरा साना साना सपना जस्तै!!!

(डिसेम्बर, जनवरी २००६,२००७, साझा)

नेपाल एकदिन फर्कन्छु

बिदेशिनुको यथार्थ, संघर्षको उतार-चढाव र सल्बलाउँदा मनका तर्कनाहरुले कहिलेकाहिँ तितो यथार्थ पोख्न बाध्य बनाइदिँदो रहेछ। कुरा २००६ तिरको हो, अमेरिका बसाईँका केहि वर्ष बित्दै जाँदा एकजना भारतियले लेखेको एक लेखमा मेरो आँखा परेको थियो। त्यस लेखमा लेखकले आफूले अमेरिकामा बिताएका चार दशक, र ती चार दशक उनले पल् पल् घर फर्कने प्रयत्नमा बिताएको कुरा उल्लेख गरेका थिए। अन्त्यमा उनि घर फर्कन्छन् तर उनले चाहेको घर र देश उनले भेट्दैनन्। बिदेशिनुपूर्वको देश र घरको एउटा तस्विर मनमा गाडिएको हुने रहेछ, र बिदेशिएकाहरुको लागि समय थामिँदो रहेछ। कयौँ वर्षपछि फर्कँदा पनि आफूले छोडेको समय, परिवेष र नाप-नक्शा जहिँको तहिँ होला भन्ने लाग्दोरहेछ तर समयसंगै प्रत्येककुरा परीवर्तन हुने रहेछ। त्यस लेखमा लेखकले यस्तै कुरा गरेका थिए।

उनकै कुराले घच्घच्याउँदा र आफूले आफ्नो स्थिती नियाल्दा यो कविता बनेको हो। कविता धेरैलाई चित्त बुझेछ र म जस्तै बिदेशिने साथिहरुले आ-आफ्नो देशको नाम राख्दै कविता बाँडेको देखेर धेरै नै खुसि लागेको छ। मेरा छरिएका कविताहरु र अरु लेखहरुलाई यो ब्लगमा एकै ठाउँमा राख्ने प्रयत्नमा यहि कविता--

नेपाल एकदिन फर्कन्छु (?!)

नेपाल एकदिन फर्कन्छु,
अमेरिकामा रमाउन सकिन्न!
संकल्प धेरै पटक मनमा आए।
तर, पढाइ त पुरा होस!
कलेज – डेरा, डेरा - कलेज
पढाई पनि सकियो।
यतिका बर्ष बिताईयो,
खालि हात के जानु!

नेपाल एकदिन फर्कन्छु,
अमेरिकामा रमाउन सकिन्न!
तर केहि बर्ष जागिर त खाउँ!
जागिर पनि खाइयो।
डेरा – जागिर, जागिर – डेरा
एक्लो भइएछ दुबैमा!
तर, म एक्लो भएको कुरा
मलाई भन्दा पहिला
नेपालमा आमालाई थाहा भयो!

नेपाल एकदिन साँच्चै फर्कन्छु,
अमेरिकामा रमाउन सकिन्न!
अहिले बिस दिने बिदामा आएको।
तपाईँको कपाल कति धेरै फुलेछन् आमा!
बुबा पनि कमजोर हुनुभएछ!
आमा बुबालाई मनभरि हेर्न नभ्याउँदै,
बिस दिनमा जीवन बिताउने
सम्झौता गरियो कुनै अपरिचित संग!

नेपाल एकदिन फर्कन्छु!
अमेरिकामा रमाउन सकिन्न!
तर अहिले अलिक मिल्दैन।
उसको भ्याई नभ्याई छ
मेरो बिदा उसको काम,
उसको बिदा मेरो काम!
फेरि छोरो पनि सानै छ!
छोरो अलिक ठुलो त होस!

नेपाल एकदिन फर्कन्थेँ
अमेरिकामा कहिल्यै रमाइन
तर कसलाई भेट्न जाउँ?
साथि भाईको खबर छैन
काका पनि ओछ्यान परे रे
कान्छो मामा पोहोर बिते रे!
आमा, बुबा त अब
हरदम म संगै छन्
मेरो यादमा, केवल यादमा!!


(नोभेम्बर ४, २००६, साझा)

आज बिहानै..... Thursday, January 15, 2009

धेरै पछि आज यतिबेला अलिकता फुर्सद भयो। चिसो बिहानि थियो, मोटरहरु गुडिरहेका थिए र लाग्दथ्यो सबै कुनै नटुङ्गिने यात्रामा थिए! यस्तैमा टुङ्गिएको कुनै यात्रा मनमा सल्बलाए!


मेरो सम्झनाले कतै
तिम्रो मुटु काँप्छ भने
मेरो तर्कनाले कतै
तिमीलाई पिडा हुन्छ भने
बुझिदेऊ नियती मेरो पनि उस्तै छ!
जानिदेऊ जिन्दगी मेरो पनि उस्तै छ!

के भूल के गल्ती
छरिएका कयौँ छन्
के माया के समर्पण
फैलिएका सयौँ छन्
दूरीलाई नाप्ने कला मायाले जान्दैन
छुट्टिनुको अर्थ 'पराई' समर्पणले भन्दैन
मुटु आखिर उहि छ कतै फेरि दुख्छ भने
मायामा भक्कानोले कतै आँशू पोख्छ भने
बुझिदेऊ नियती मेरो पनि उस्तै छ!
जानिदेऊ जिन्दगी मेरो पनि उस्तै छ!

केहि बाटो संगै हामि
अन्जान मै हिँडेको
केहि बाटो संगै फेरि
मुस्कानमा हिँडेको
मोडबाट म बिलाएँ बेहोशी बेहोशी!
दोबाटोमा तिमीलाई छाडेँ बेहोशी बेहोशी!
चिसो हावाले कतै यात्रामा याद थप्छ भने
सेतो हिउँले कतै आँशू ढिक्का पार्छ भने
बुझिदेऊ नियती मेरो पनि उस्तै छ!
जानिदेऊ जिन्दगी मेरो पनि उस्तै छ!

मेरो सम्झनाले कतै
तिम्रो मुटु काँप्छ भने
मेरो तर्कनाले कतै
तिमीलाई पिडा हुन्छ भने
बुझिदेऊ नियती मेरो पनि उस्तै छ!
जानिदेऊ जिन्दगी मेरो पनि उस्तै छ!!

आकर्षण Wednesday, December 24, 2008

मात थरिथरिका हुँदारहेछन्। मदीराको मात, धनको मात, पदको मात ईत्यादी, तर केहि समयविषेशमा सबै मातलाई मात गर्ने सुन्दरताको मात हुँदोरहेछ-

माछापुछ्रेलाई बिस्तारै
बादलले ढाकेर,
फेरी बादल हटेर,
माछापुछ्रे हाँस्दै अन्नपूर्ण संग जोडिएको,
मैले सरानकोट बाट नियाल्दा,
निलो आकाशले जसरि मलाइ छोप्छ;
त्यसैगरी,
तिमीले तिम्रा केशरासी मुहार बाट हटाउँदा,
तिम्रा अर्धमुदीत नयन,
अलिकता माथि उठेर मलाइ हेर्छन
र फेरी झुक्छन।
ठिक त्यतिबेला,
तिम्रो नाकको फूलिबाट परावर्तित ज्योतीले,
मेरो आँखामा चमक ल्याउँछ
र म तिम्रो गालाको लाली हुँदै,
ति अमृत प्यालाहरुमा हराउँदै,
तिम्रो मुहार जब हेर्छु,
मलाइ तिम्रो सुन्दरताले छोप्छ!

(फेव्रुअरि १, २००६ साझा)

कुरा फेरि रक्सीकै

याद र रक्सीको सम्बन्ध शायद, सभ्यता र रक्सीको आविष्कारसंगै सुरु भएको होला-

जब तिमी,
सुस्तरी मेरो यादमा आउँछौ,
सुकेका मेरा आँखामा मुल फुट्छन्,
र मेरो अगाडि भएको रक्सिको गिलाँसमा,
म त्यसलाई भर्न खोज्छु!
अचानक झस्किन्छु,
कतै यसले मेरो नशा त बिगार्दैन?
अनि बग्न दिन्छु त्यसलाई
त्यसको आफ्नै बहावमा।
जति मेरो आँशु बग्छ,
म त्यति रक्सि म भित्र हाल्छु।
जति रक्सि म भित्र हाल्छु,
त्यति मेरो आँशु बग्छ!!
यसरि कयौँ रात म बिताउँछु,
केहि बगाउँदै,
केहि पिउँदै!
किन तिमी अझै आउँछौ मेरो यादमा?
ऊफ!,
कति भन्नु तिमीलाई
जिन्दगी र याद फरक हुन्!!

(फेव्रुअरि २६, २००६ साझा)

बाध्यता

जीवनमा कुनै कुनै कुरा मनमा यसरी गड्छन् कि तिनका छाप शायद कहिले पनि मेटिँदैनन्-


मैले हत्केलाले छोप्न खोज्दा खोज्दै
फुत्त निस्केर भागेको,
कुनै उड्दै गरेको
सिमलको भुवा जस्तो तिम्रो माया;
उड्दै उड्दै हावाको तालमा,
पटक पटक कालावाजी खाँदै,
तातो स्पर्शको क्षणिक मादमा,
घाम घाम चुलिँदै र ढल्किँदै,
चिसो भुइँमा बजारिँदा,
मेरो हत्केलाको ताप,
अचानक पग्लन्छ; मेरो आँखाबाट!

साथका अनेक आयामहरु,
एक एक गर्दै केलाउँदै जाँदा,
सिधा बाटोको परिभाषा,
गलत बनिदिन्छन कुनै मोडमा;
जहाँ दायाँ कतै पर,
प्रेम झुपडि मैले नियाल्दा,
बायाँको रंगि चंगि बलौटे महलतिर
तिम्रो पाइला बढ्छन्,
र म फगत जड बनिदिन्छु;
प्रेम झुपडिको झिंगटी संगाल्दै!

ढोका खोल्ने बेला भएको,
बिहानीको कुनै,
खुद्रा पसल जस्तो मेरो जवानी;
झिसमिसेमा तिम्रो ढोका नखुल्दा,
एकछिन रनभुल्लमा पर्छु।
चाहँदा नचाहँदै पनि,
मेरो सामु कुनै नयाँ ढोका खुल्छ,
र म भित्र पस्छु;
टाढा कतै हराएको साँचो हातमा लिएको
उदास तिम्रो मुहार हेर्दै!!!

(फेब्रुअरि ९, २००७ साझा)

खस्रो गुलाब

भन्छन, जुन चिज प्राप्ती भित्र पर्दछ, जुन चिज साध्य छ त्यो चिजको महत्व अप्राप्त र असाध्य चिजहरुभन्दा कम हुन्छ। र कहिलेकाहिँ सफलता चुम्न खोज्दा संघर्ष र परिश्रमले यति थकित बनाइदिँदोरहेछ कि, पाएको सफलताप्रति मन उदासिन हुँदोरहेछ-

बास्ना आफ्नो ठाउँमा छ,
कोमलता आफ्नो ठाउँमा छ,
सौन्दर्य आफ्नो ठाउँमा छ,
र फक्रेर बिहानि बोलाउने
कोपिला आफ्नो ठाउँमा छ!
तर सुगन्ध भेट्न
जरा देखि उकालो लागेको म;
बिचका असंख्य काँडाहरुमा अल्झिँदै,
चिरिँदै र टुक्रिँदै,
रगताम्य शरिर लिएर
थुङ्गा सम्म पुग्दा-
मलाई गुलाब;
खस्रो लाग्छ!
सतहि लाग्छ!
खोक्रो लाग्छ!
व्यर्थ लाग्छ,
र बेकार लाग्छ!!

(डिसेम्बर २२, २००६, साझा)